ट्विटर भेरिफाइड’ भएका प्रयोगकर्ताको अकाउन्टमा राखिएको निलो टिक’ हटेपछि एलन मस्कको चर्चा थप चुलिएको छ । उनी माइक्रोब्लगिब साइट ट्विटरका सीईओ हुन् । केही समयअघि मात्रै उनले ट्विटरको लोगो निलो चरा’ ठाउँमा कुकुर’ राखे, तर भोलिपल्टै उनले त्यसलाई हटाइदिए ।
यस्तै हालै उनको अर्को कम्पनी स्पेसएक्सले बनाएको रकेट परीक्षण उडानका क्रममा विस्फोट भयो । अन्तरिक्ष यात्रीलाई चन्द्रमा, मंगल ग्रह वा अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले रकेट बनाइएको थियो । यो महात्वाकांक्षी परियोजना असफल भए पनि उनले हार मानेनन्, बरु उत्साही भएर भनेका छन्, केही महिनामै हुने अर्को परीक्षणका लागि यसबाट धेरै कुरा सिकेको छु ।
अनेक प्रयोग गर्न रुचाउने मस्कको चर्चा विश्वमै हरेक दिन भइरहेकै हुन्छ । यिनै अमेरिकी अर्बपति ४७ वर्षीय मस्कको रोमाञ्चक बालजीवनीलाई कथालयले प्रकाशनमा ल्याएको छ ।
अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक “The Guest From The Future” छ भने नेपाली भाषामा “भविष्यका पाहुना” रहेको छ । मूल लेखक लुसिने अलेक्सेनयन हुन् भने थोमस शाहिन्यानले चित्र बनाएका हुन् । नेपालीमा विमलकुमार सुवेदीले अनुवाद गरेको पुस्तकको सम्पादक भिक्टर प्रधान हुन् ।
दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका मस्क सानैदेखि जिज्ञासु थिए । संसार कहाँबाट सुरु भएर कहाँ टुंगिन्छ’ भन्ने प्रश्न सोधेर अरूलाई हैरान पार्थे । छिटै पढ्न थालेका उनले आठ वर्षको हुँदा त घरको पुस्तकालयमा भएका सबै पुस्तक पढिसकेर इन्साइक्लोपेडिया हेर्न थालिसकेका थिए । केवल १२ वर्षको उमेरमा उनी आफैले कम्प्युटर गेम विकास गरे । त्यसलाई बेचेर उनले औषधि कम्पनीको सेयर किने । यसरी कलिलै उमेरदेखि उनको सपनाले मूर्त रूप लिँदै गयो ।
१९८८ मा विद्यालयको पढाइ सकेर उनी उच्च शिक्षाका लागि क्यानडा पुगे । कहिले नातेदारको फार्ममा त अहिले आरावालका रूपमा पनि काम गरे । १९९२ मा उनी अमेरिकाको पेन्सलभानियाँ पुगे र भौतिकशास्त्र र अर्थशास्त्रको अध्ययनमा लागे । भाइसहित उनले जिप २ इन्टरनेट कम्पनी स्थापना गरे । पछि उनीहरुले कम्पनी बिक्री गरे । मस्कको भागमा २ करोड २० लाख डलर हात पर्यो, जतिबेला उनी २७ वर्षका मात्रै थिए । पछि उनी पे–पाल’को सहसंस्थापक बने ।
उनले २०११ मै कुनै पनि बेला मानिसलाई मंगल ग्रहमा पठाउने वाचा गरेका थिए । त्यो प्रयास उनले थालिसकेका छन् । २०१८ उनले अन्तरिक्षमा पठाइएका मध्ये सबैभन्दा शक्तिशाली यान फाल्कन हेभी मंगलग्रह पठाएका थिए ।
पुस्तकमा एलन मस्क सानो छँदाका बानीव्यहोरा, पारिवारिक अवस्था, उनको सिकाइ प्रक्रिया, आफ्नो सपना र त्यसलाई साकार पार्न गरेको संघर्षका बारेमा उल्लेख गरिएको छ । यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषामा २८ पृष्ठको दुवै शीर्षकको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।