प्रकाश सुवेदीद्वारा लेखिएको उपन्यास 'आशा छ' प्रकाशित भएको छ। शैक्षिक क्षेत्रको समस्या उजागर गर्ने यो उपन्यास शिक्षामा गुणस्तरीय सुधार चाहने प्राध्यापकको कथा हो।
यसमा शैक्षिक क्षेत्रमा सकारात्मक प्रयास गर्ने प्राध्यापकले भोग्ने राजनीतिक अवरोध र शैक्षिक क्षेत्रका विकृतिलाई देखाइएको छ। उपन्यासमा लेखकले आदर्श सपना देख्ने प्राध्यापक र चरम विकृत यथार्थबीचको द्वन्द्व मार्मिक रुपमा चित्रण गरेका छन्।

शिक्षामा राजनीति हाबी हुँदा असल मान्छे हार्ने र राजनीतिक कृपा पाएकाहरुले जित्ने हामीले देख्दै भोग्दै आएका छौं। आशा छ को कथा पनि यही वास्तविकताको नजिक छ।
यस पुस्तकको प्रकाशन गर्ने वी रिड किशोरवय पार गरेर वयस्क उमेरमा प्रवेश गर्ने पाठकलाई ध्यानमा राखी पुस्तक प्रकाशन गर्ने गर्छ। 'आशा छ' उपन्यास पनि तिनै उमेर समूहका पाठकवर्गमा लक्षित भएको प्रकाशकका तर्फबाट जनाइएको छ।
काठमाडौंको परिवेशमा म पात्र मार्फत भनिएको यो उपन्यासमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिका कारण देशमा युवा पुस्ताले भोगिरहेको समस्याको कथा छ। यद्दपि 'आशा छ' नाम झैं उपन्यास मार्फत लेखकले वर्तमान समाजका अँध्यारा पक्षबारे अवगत गराउँदै युवा वर्गमा सकारात्मक सन्देश दिने प्रयास गरेका छन्।
लेखक सुवेदीको यसअघि 'छोरी ज्वाईं भेट्न अमेरिका' नियात्रा संग्रह प्रकाशित छ। २६९ पृष्ठ रहेको यस पुस्तकको मूल्य ४४९ रुपैयाँ तोकिएको छ।